भेजिटेरियनको  पुनर्पठन : द भेजिटेरियन उपन्यास समीक्षाः सामाजिक दबाब र वैयक्तिक स्वायत्तताको द्वन्द्व

भेजिटेरियनको पुनर्पठन : द भेजिटेरियन उपन्यास समीक्षाः सामाजिक दबाब र वैयक्तिक स्वायत्तताको द्वन्द्व

विन्देश दहाल, साहित्य पोस्ट, आश्विन २८, सोमबार  : 

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार विजेता दक्षिण कोरियाली लेखिका हान काङको उपन्यास ‘द भेजिटेरियन’ समीक्षकले आठ वर्षअघि नै पढिसकेको हो । त्यतिखेर यस उपन्यासले विख्यात बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेर चर्चा कमाएको थियो । अनि त्यसमाथि समीक्षक आफैं शाकाहारी भएकाले उपन्यासको शीर्षकले मन तानेको थियो । अहिले लेखिका हानले नोबेल पुरस्कार जितेपछि समीक्षकले पुस्तकलाई दोहो-याएर पढ्ने अवसर जुरेको हो । पुनर्पठन
सन् २००७ मा कोरियाली भाषामा प्रकाशित यस उपन्यासलाई डेबोरा स्मिथले अंग्रेजीमा अनुवाद गरेकी हुन् । अनुवादमा पनि लेखिका हानको काव्यात्मक शैली प्रतिबिम्बित भएको छ ।
यो उपन्यासमा योङ–हे नामक महिला केन्द्रीय पात्रका रूपमा रहेकी छन् । उनले पशुहरूलाई क्रूरतापूर्वक मारिएको वीभत्स र तर्साउने दुःस्वप्न देख्न थालेपछि मासु खान छोड्ने संकल्प लिन्छिन् । मांसाहारी समाजमा उनको यो निर्णय विद्रोहात्मक मानिन्छ र उनको परिवारले उनलाई यो निर्णय उल्ट्याउनका लागि दबाब दिन्छन् । तर उनी निर्णयमा अटल रहन्छिन् । उनको यो हठका कारण जीवनमा एकपछि अर्को घटनाक्रम हुन थाल्छ र उनी स्वयं तथा उनी नजिकका मानिसले उथलपुथल अनुभव गर्छन् ।
उपन्यास तीन भागमा विभाजित छ र प्रत्येक भागलाई बेग्लाबेग्लै पात्रको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । योङ–हेका पति, भिनाजु र दिदीले आफ्नो दृष्टिकोणबाट कथा बताउँदै गर्दा योङ–हे स्वयंको आवाज उपन्यासमा खासै सुनिँदैन । उनी रहस्यमयी पात्रका रूपमा रहन्छिन् र यसले औपन्यासिक रहस्यलाई पनि घनीभूत बनाउँछ । यसरी योङ–हेलाई केन्द्रीय पात्र बनाएर पनि आवाज नदिई लेखिका हानले पाठकहरूलाई कुनै पनि व्यक्तिको जीवन बुझ्नका लागि बाहिरी दृष्टिकोणहरू पर्याप्त नहुने यथार्थसँग साक्षात्कार गराएकी छन् । हाम्रो समाजमा पनि कुनै व्यक्तिका बारेमा आफैं बुझ्ने कोशिश गर्नुको साटो अरू व्यक्तिले उसमाथि बनाएको धारणालाई सर्लक्क अपनाउने प्रवृत्ति हावी रहेकाले नेपालीहरूले पनि यस उपन्यासको कथानक शैलीलाई आत्मसात गर्न सक्ने देखिन्छ ।
उपन्यासको पहिलो भाग योङ–हेका पति चोङको दृष्टिकोणबाट बताइएको छ । उनी सामान्य व्यक्ति हुन् र उनले योङ–हेलाई सोझी भएकाले विवाह गरेका हुन् । आफूले भनेको खुरुखुरु मान्ने आज्ञाकारी पत्नीले अचानक मासु खान छोड्ने निर्णय लिँदा उनी चकित मात्र नभई स्तब्ध नै हुन्छन् । पत्नीको व्यवहारले असजहता आउने भएकाले उनी योङ–हेलाई पुरानै जीवनशैली अपनाउनका लागि दबाब दिन्छन् । उनको यस व्यवहारले कोरियाली समाजमा व्याप्त पितृसत्तात्मक सोच र कठोर सामाजिक बन्धनलाई प्रतिबिम्बित गर्दछ ।
त्यसो त योङ–हेले नैतिक वा धार्मिक आधारमा भन्दा पनि पशुलाई वीभत्स रूपमा हत्या गरी चारैतिर रगत छरेको सपना बारम्बार देखेकाले मासु खान छोडेकी हुन् । उनी पहिला मासु खान छोड्छिन् र बिस्तारै मानिसहरूबाट पनि टाढिन थाल्छिन् । उनको यो विद्रोह शुरूमा त सानो स्तरको हुन्छ तर बिस्तारै यसले उनको वैवाहिक सम्बन्ध र परिवारबाट सहनुपरेको दमनलाई उजागर गर्दै जान्छ । पति चोङले पत्नीको निर्णयप्रति सहानुभूति नदेखाउनु र उनलाई बुझ्ने कोशिश पनि नगर्नुले कोरियाली समाजमा महिलाले परम्परागत भूमिकाबाट दायाँबायाँ गर्दा सामना गर्नुपर्ने चुनौतीलाई प्रतिबिम्बित गर्दछ ।
हान काङ, बूकर पुरस्कार हात पारेपछि
योङ–हेको विद्रोहलाई सहन नसकी उनका पिताले जबर्जस्ती मासु खुवाउनका लागि कुटपिट गर्छन् । यस घटनाले पितृसत्तात्मक सोचको दमनकारी चरित्रलाई उजागर गर्छ । यसको प्रतिकारका रूपमा योङ–हेले आफ्नो नाडी काट्छिन् । यस कदमले उनको अवसादलाई संकेत गर्नुका साथै समाजको साँघुरो घेराबाट फुत्किने उनको प्रयासलाई पनि इंगित गर्दछ ।
दोस्रो भागमा योङ–हेको भिनाजु (नाम खुलाइएको छैन) को दृष्टिकोणबाट कथा अघि बढ्छ । भिनाजु कलाकार हुन् र योङ–हेको शरीरमा फूल आकारको नीलो दाग छ भन्ने थाहा पाएपछि उनी योङ–हेप्रति बढी नै आकर्षित हुन्छन् । उनी योङ–हेलाई कामुकताले भरिएको कलाका रूपमा प्रस्तुत गर्न चाहन्छन् । योङ–हेको शरीरमा फूलहरूको चित्र बनाएर उनलाई नग्न अवस्थामा राखी कलाको नमूना पेश गर्ने भिनाजुको धोको हुन्छ । यस अर्थमा योङ–हेप्रति भिनाजुको आकर्षणमा पवित्र उद्देश्य नभई उनलाई वस्तुकरण गर्ने र आफ्नो स्वार्थसिद्धि गर्ने जमर्को मात्र हुन्छ ।
यसरी महिलाको शरीरप्रति पुरुषको आकर्षण, कामुक सोच र शोषणको चाहनालाई उपन्यासले प्रस्तुत गरेको छ । योङ–हेका पतिले उनलाई आज्ञाकारी कामदारका रूपमा वस्तुकरण गरेझैं भिनाजुले कलाको एक माध्यमका रूपमा वस्तुकरण गर्न खोजेका छन् । योङ–हेको मौनतालाई भिनाजुले स्वीकृतिका रूपमा बुझ्छन् र आफ्ना स्वैरकल्पनाहरू योङ–हेमाथि थोपर्छन् । त्यसक्रममा उनी योङ–हेको स्वतन्त्रता र स्वायत्ततालाई सम्मान गर्दैनन् ।
हान काङको भेजिटेरियन उपन्यासको नेपाली अनुवाद
भिनाजुले आफ्नो कला परियोजना अन्तर्गत योङ–हे र एकजना साथीबीच यौनक्रीडा गराएर त्यसको भिडियो बनाउन खोज्छन् । साथीले लाज मानेर यसो गर्न नमानेपछि उनी आफैं नांगिएर योङ–हेसँग यौनसम्बन्ध राख्छन् र त्यसको भिडियो खिच्छन् । योङ–हे यो समयसम्म मानसिक रूपमा विक्षिप्त जस्तो भइसकेकाले आफूमाथि यौनशोषण गरिँदैछ भन्ने समेत थाहा पाउँदिनन् । तर उनकी दिदीले आफ्ना पति र दिदीबीचको सम्बन्धको खुलासा गर्ने भिडियो हेरेपछि प्रहरी बोलाउँछिन् ।
भिनाजु र योङ–हेबीचको सम्बन्धलाई आधार बनाएर लेखिका हानले कलात्मक सिर्जनाको उद्देश्यमाथि प्रश्न गरेकी छन् । कलालाई स्वतन्त्रताको सूचकका रूपमा लिनुपर्छ कि यो पनि वस्तुकरणको एक माध्यम हो ? कलाको नाममा भिनाजुले आफूमाथि गरेको शारीरिक शोषणलाई योङ–हेले सामाजिक बन्धनबाट स्वतन्त्र रहेको भनी देखाउन खोजेकी हुन् कि महिलाको शरीरमाथि पुरुषको कामुक दृष्टिलाई वैधता दिएकी हुन् ? यी प्रश्नहरूले पाठकको मथिंगल हल्लाउँछ ।
तेस्रो भागमा योङ–हेकी दिदी इन–हेको दृष्टिकोणबाट कथानक अघि बढाइएको छ । इन–हे यस परिवारकी जेठीबाठी र जिम्मेवार सदस्य हुन् । बहिनीको विद्रोही कदमले उनलाई गम्भीर असर पारेको छ । उनी पनि आफ्ना व्यक्तिगत चाहनाहरूलाई कसरी समाजको अपेक्षारूपी बन्धनको वेदीमा बलिदान दिनुपरेको थियो भनेर घोत्लिने गर्छिन् । योङ–हे मानसिक रूपमा विक्षिप्त भएर अस्पतालमा भर्ना हुनुपरेपछि इन–हेले सामाजिक दमनका कारण महिलाको मनमा पर्ने असरका बारेमा सोच्छिन् । आफूले पनि सामाजिक व्यवहार कायम गर्नका लागि गर्नुपरेको अनेकौं बलिदानलाई उनी सम्झिन्छिन् ।
बहिनीलाई मानसिक अस्पतालमा राखेपछि इन–हे उनको स्याहार गर्न थाल्छिन् । पिताले बहिनीमाथि गरेको दमनलाई रोक्न नसकेको र पितृसत्तात्मक समाजको क्रूरताबाट बहिनीलाई संरक्षण गर्न नसकेको कुराले उनलाई पश्चात्तापको अनुभव गराउँछ । बहिनी दिनानुदिन मानसिक विक्षिप्तताको रसातलमा धसिँदै गएको देख्दा उनलाई पीडा हुन्छ तर उनी केही गर्न सक्दिनन् । तर त्यससँगै समाजको कठोर बन्धनबाट मुक्त भई आफ्नै मानसिक संसारमा विचरण गरिरहेकी बहिनीको भाग्य देखेर इन–हे ईर्ष्यालु पनि बन्छिन् ।
उपन्यासको अंग्रेजी संस्करण
यसरी यस उपन्यासले व्यक्ति र समाजबीचको द्वन्द्वको कथा भन्छ । व्यक्तिको इच्छाको अभिव्यक्ति र स्वायत्तताको चाहनालाई समाजले कसरी दमन गरी परम्परागत ढर्रामै रहिरहन बाध्य बनाउँछ भन्ने कटुसत्यलाई उपन्यासले भावोद्वेलित हुने गरी प्रस्तुत गरेको छ । मासु खान छोड्ने नितान्त वैयक्तिक निर्णयले योङ–हेलाई क्रूर सामाजिक दमनको शिकार बनाएको र मानसिक विक्षिप्तताका साथ बाँच्न बाध्य बनाएको दुःखान्त कथानकले पाठकको मन निचोर्छ । परम्परागत जीवनपद्धतिको दमनबाट मुक्ति पाउने उपाय भनेको पागलपन मात्र हो त ? पाठकहरूले उपन्यास पढेपछि मनमा यो कुरा खेलाउने छन् ।
समीक्षकले कोरियाली भाषा नबुझ्ने भए पनि हान काङको लेखनशैली पक्कै सुन्दर होला जस्तो लाग्छ किनकि अंग्रेजी अनुवाद पनि आफैंमा काव्यात्मक छ । योङ–हेका सपनाहरूको वर्णन र सामाजिक यथार्थताबाट उनी उदासीन बन्दै गएको विवरणलाई कुनै गीतिकवितासरी प्रस्तुत गरिएको छ । अन्य पात्रहरूमार्फत योङ–हेको कथा भनेर लेखिकाले उनको मानसिक परिवर्तनको यात्राको जटिलतालाई पाठकसामु प्रस्तुत गरेकी छन् ।
यो उपन्यासको पठन सरल छैन किनकि यसको संरचना नै बहुल दृष्टिकोणयुक्त छ । पशुमाथिको क्रूरता र रगतको आहालका वर्णनहरूले पाठकलाई बिच्क्याउन सक्छन् । तर उपन्यासमा प्रयुक्त रगत, फूल र रुखहरूको दोहोरिरहने बिम्बले यसलाई स्वप्नशीलता प्रदान गरेको छ ।
मानवीय हिंसाको अस्वीकार यस उपन्यासको सबभन्दा सशक्त पक्ष हो । योङ–हेले पशुमाथि गरिने क्रूरतामा आफ्नो सहभागिता नरहने कुरा राख्दै गर्दा अन्य मानिससँगको सम्बन्धलाई समेत बलिदान दिन्छिन् । अन्तिममा उनी प्रकृतिको एक अंगका रूपमा परिणत भएको वर्णन छ । यसलाई वैयक्तिक स्वायत्तताका रूपमा पनि हेर्न सकिन्छ भने यो वैयक्तिकताको हरण पनि हो । उपन्यासले पाठकलाई समाज र व्यक्तिको सम्बन्धमा विभिन्न प्रश्न सोध्न प्रेरित गर्छ र कुनै सरल उत्तर दिँदैन । यस अर्थमा यो वैचारिक उपन्यास पनि हो ।
हान काङले लैंगिक यथार्थ, वैयक्तिक स्वायत्तता र पागलपन जस्ता जटिल विषयहरूलाई काव्यात्मक भाषा र लेखनशैलीमार्फत बलियो आख्यानका रूपमा प्रस्तुत गरेकी छन् । उपन्यास पढिसक्दा पाठकको मन र मस्तिष्क दुवैमा गहिरो प्रभाव पर्दछ ।
श्रोत अनि साभार लिंक : https://sahityapost.com/top-news/156777/

Leave a Reply

Your email address will not be published. Required fields are marked *