कालिमन्युज, कालेबुंग, ३ जुलाई २०२४: युद्धवीर गुरुङ जसको नाउँमा गोरुबथानको दुई सम्भवत प्रथम दुई शैक्षिक संस्थाहरू स्थापना गरिएको छ, उनको स्मृतिमा गोरुबथानको मालबस्तीमा प्रतिमा स्थापना गर्ने योजना राखिएको छ | गोरुबथानमा पहिलो स्थापित शैक्षिक संस्थान युद्धवीर मेमोरियल स्कुल थियो, जसलाई पछि युद्धवीर प्राथमिक विद्यालय भनियो र अन्ततः युद्धवीर निम्न बुनियादी पाठशाला(जुनियर बेसिक स्कुल)मा बढोत्तरी भएको थियो।
यसैगरी, यसलाई माध्यमिक शिक्षाको निम्ति युद्धवीर उच्च बुनियादी पाठशाला (सिनियर बेसिक स्कुल)मा बढोत्तरी गरियो, पछि यही उच्च बिद्यालयमा र अन्ततः बढोत्तरी गरिएर युद्धवीर उच्चत्तर माध्यमिक विद्यालय(हायर सेकेन्डरी स्कुल)मा परिणत भएको थियो। यही विधालय नै गोरुबथानको वर्तमान सरकारी कलेजको आधार पनि हो।
गोरुबथानमा शैक्षिक यात्राको विजारोपण गर्ने विद्यालय – जसको नाममा यी दूई विद्यालयहरु स्थापित गरिएको थियो अर्थात् युद्धवीर गुरुङको स्मृतिमा सालिक निर्माणार्थ गठन गरिएको युद्धवीर गुरुङ सालिक निर्माण समितिद्वारा आगामी ८ जुलाई सोमबारको दिन युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा अपराह्न २ बजे आमसभा आयोजन भइरहेको छ। उक्त सभामा युद्धवीर जुनियर बेसिक पाठशाला, युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा पठनपाठन गर्ने पूर्व विद्यार्थीलगायत गोरुबथानका बुद्धिजीवी, शुभचिन्तक सबैलाई आयोजक पक्षबाट उपस्थितिको निम्ति हार्दिक अनुरोध गरिएको छ।
उक्त सभामा युद्धवीर गुरुङको सालिक निर्माण, धर्मशालादेखि सेरिकल्चरसम्मको बाटोलाई युद्धवीर गुरुङ मार्ग नामाकरण अनि युद्धवीर गुरुङलाई दस्तावेजीकरण गर्नको निम्ति स्मारिका तयार गरिने विषयमाथि चर्चा, सुझाव, सरसल्लाह हुनेछ। तसर्थ यस महत्वपूर्ण सभामा सबैलाई उपस्थिति भइदिन आयोजक पक्षबाट सभापति पुरण राईले हार्दिक अपिल गरेका छन्।
युद्धवीरका आफन्तहरूले यो बिद्यालयको निम्ति आफ्नो जमिन दान गरेका थिए, जसलाई पछि धर्मशालाबाट शुरु भएको मूल प्राथमिक र माध्यमिक बिद्यालयहरूलाई आजको स्थानमा माल बस्तीमा स्थानान्तर गरिएको थियो।
गोरुबथानको शैक्षिक इतिहासको आधिकारिक दस्तावेज पल्ट्याउँदा शुरुमा नै युद्धवीर गुरुङको नाम स्वर्ण अक्षरले लेखिएको पाउँछौँ। ब्रिटिश इस्ट इण्डिया कम्पनीको जमानामा जहाँ उनीहरूको सन्तान र केही हुने खानेका छोराछोरीलाई मात्र लेख्ने/पढ्ने अवसर थियो। यस्तोमा हुँदा खानेका नानीहरूले पनि शिक्षा आर्जन गर्न पाउनुपर्छ भन्ने सोच राख्ने गोरुबथानका त्यस ताकका विद्वान/विदुषीहरूको परामर्शमा गोरुबथानमा पनि पाठशाला स्थापना गर्ने विचारको विजारोपन भयो। यही परिकल्पनालाई कार्यान्वयन गर्न स्व. डम्बरसिंह गुरुङ अघि आउनुभयो र आफ्नो बाबुको नाममा गोरुबथानको धर्मशाला नजिक एउटा घरलाई युद्धवीर गुरुङ मेमोरियल पाठशाला नामकरण गरी पठनपाठन शुरु गरियो। यही नै थियो गोरुबथानमा ज्ञानको ज्योति बाल्ने प्रथम आधिकारिक पहल।
स्व. युद्धवीर गुरुङकै नाममा स्थापित युद्धवीर बुनियादी पाठशाला, युद्धवीर उच्चतर माध्यमिक विद्यालयले गोरुबथान लगायत डुवर्सको ठूलो भागको शैक्षिक विकासमा गरिमामय योगदान पुराउँदै आइरहेको छ। गुरुङकै दूरदर्शिता एवं नि:स्वार्थ सहयोगकै कारण शिक्षाको भुकभुके उज्यालो पनि छिर्न नसकेको गोरुबथानको शैक्षिक स्तर अहिले लोभलाग्दो अवस्थामा आइपुगेको छ। यसले डुवर्सका मानिसहरूलाई विशेष गरि वरिपरिका १० देखि १५ चिया बगान र २० देखि ३० बस्तीहरुका विद्यार्थीहरुलाई प्राय ८६ वर्षदेखि शिक्षादान दिइरहेको छ |
1938 मा स्थापित युद्धवीर जुनियर बेसिक पाठशालाले 1958 मा सरकारी मान्यता पाएको थियो। जतिबेला स्कुल निरीक्षक पदमा यद्धवीर गुरुङकै नाति कृष्ण बहादुर गुरुङ आसिन थिए। युद्धवीर निम्न बुनियादी पाठशालालाई बढोत्तरी गरेर अहिलेको युद्धवीर उच्चतर माध्यमिक विद्यालय 1948 मा स्थापित गरिएको थियो। जुन वर्ष दार्जिलिङ सरकारी महाविद्यालयको पनि स्थापना भएको थियो।