कालिमन्युज, कालेबुंग, २६ मई २०२४ : विभिन्न क्षेत्रमा हिमाली पहाडी भेक र अन्य स्थानका गोर्खा र अन्य युवाहरुले धेरै प्रगति गरिरहेका छन् । यसै बीच दिलाराम चिया कमान निवासी डा कमल भुजेलले आफ्नो शोध गर्ने क्रममा नेगेटिव एब्जर्ब्सन नामक एक नयाँ प्रक्रियाको खोज गरेका छन्। डा कमल भुजेलले गत वर्ष २०२३ मा मिजौराम विश्वविद्यालयको भौतिक विज्ञान बिभागबाट विद्यावारिधि प्राप्त गरेका हुन्। तिनको शोधको विषय थीन-फील्म पेरोव्स्काइट सोलर सेल रहेको थियो।
तिनले यस शोधकार्यका अधिकांश भाग भारतीय प्राद्योगिक संस्थान-धनबाद (IIT-Dhanbad) को सोलर एनर्जी रिसर्च ल्याबमा प्राध्यपक राजालिंगम थंगवेलको अधीनमा गरेका हुन्। तिनले यसै सोलर सेल बनाउने क्रममा निक्कल अक्साइडको पत्ला परत (Thinfilm of nanometer thickness) एफटीओ (Flourine Doped Tin Oxide) माथि तयार पारेर त्यसबाट प्रकासका तरंग (Light wave from 200-3000nm) २००-३००० न्यानोमीटर फ्याकेर कति पार (Transmit) हुन्छ अनि कति सोस्छ (Absorb) भनेर जाँच गर्ने क्रममा इन्फ्रारेड (Infrared region) क्षेत्रमा अचम्मको प्रक्रिया देखा परेको जानकारी दिएका छन्। जसमा फ्याकिएको प्राकाशको मात्रा भन्दा निस्किएको प्रकासको मात्रा बढेर बेसी निस्किएको भेटियो, जुन प्रक्रियालाई त्यसै हेर्दा “ऊर्जाको संरक्षणको नियम” (Law of Conservation of Energy) को विपरित गएको देखियो जुन सम्भव नै छैन। यो प्रक्रिया निक्कल अक्साइडमा भने अहिले सम्म कसैले पनि भेटेका थिएनन्।
सन १९२८ मा सी भी रमन र के एस कृष्णनले तरलमा एक्यरंग तरंग फ्याक्दा पनि यसै प्रकारको प्रक्रिया भेटेका थिए भने यस क्षेत्रमा धेरै कम मात्रामा मात्र शोध भएका छन्। डा कमल अनुसार यस प्रक्रिया हुनु पछाडीका ठोस् कारण भने अहिले नै किटान गरेर भन्न नसकिने भनेका छन्। तिनी भन्छन् यस प्रक्रियाको अस्तित्व छ भनेर यस शोधले ठोस् प्रमाण गरिसकेको भएता पनि यसका कारणहरू पत्ता लगाउनका निम्ति भने अझै गहनताका साथमा धेरै जाँचहरू गर्न पर्ने बताएका छन्। तथापी तिनले यस प्रक्रियाका सम्भावित कारण यसरी प्रष्टाएर भन्ने कोसिस गर्छन् कि फ्याकिएको प्रकास निक्लँदा आफै बढेर निस्किएका नभएर, एफटिओ र निक्कल अक्साइडको जुन परत निर्माण भएको छ त्यस जोडनमा इन्फ्रारेड तरंगले हिर्काउँदा त्यस क्षेत्रका अणु-परमाणुहरू उत्तेजित भएर उर्जामा परिणत भएको हुन सक्ने अढ्कल गरेका छन्।
वैज्ञानिक समुदायमा कुनै पनि नयाँ खोज पत्ता लागेमा त्यसलाई प्रमाण गर्नका निम्ति संसारकै स्तरीय अनि प्रसिद्ध जर्नलमा त्यस शोधलाई प्रकाशित गर्नुपर्ने हुन्छ। यस क्रममा डा कमल भुजेलले यस शोध कार्य २०२० देखि शुरु गरेर २०२२ सम्ममा सिध्याएका भएता पनि यसलाई जर्नलमा प्रकाशित गर्न २४ सम्म पर्खनु पऱ्यो। जसमा प्रथम जर्नलले केहि माप दण्ड नपुगेको भनेर अस्वीकार नै गरिदिएका थिए भने त्यस पछिका ७ वटा जर्नलहरूले आफ्नो क्षेत्र नमिलेर अर्को जर्नलको सुझाव दिएका थिए। अन्त्यमा भने एल्सीभर समूहको फिजिका बी-कन्डेन्स्ड म्याटर (Physica B: Condensed Matter) जर्नलमा २८ फरवरी २०२४ को दिन बुझाए अनि १० मईको दिन जर्नलबाट सोधिएका सम्पूर्ण प्रश्नहरूको उत्तर बुझाए र २० मईको दिन स्वीकृत गरिए पछि २१ मईको दिन अनलाईनमा प्रकाशित भएको छ। यसरी आफ्नो शोध प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण शुभचिन्तकहरूलाई कृतज्ञता प्रकट गरेका छन् भने, हाम्रा गोर्खा शोधकर्ताहरूलाई पनि यसरी आफ्नो शोधहरू अघि बढाउदै प्रगति गर्ने आग्रह गरका छन्।